काठमाडौं, २८ माघ :
नेपाल प्रहरीका महानिरीक्षक आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण आजबाट अवकास पाउँदै हुनुहुन्छ । खनालसँगै ३ अतिरिक्त महानिरिक्षक एआईजी पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले पनि आज अवकाश पाउँदै हुनुहुन्छ । महानिरिक्षकको अवकाससंगै सरकारले नयाँ महानिरिक्षक नियुक्त गर्ने तयारी गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान ११ बजे बस्ने मन्त्रीपरिषदको बैठकले प्रहरी संगठनको नयाँ नेतृत्व चयन गर्नेछ । मन्त्री परिषद बैठकले डीआईजीहरु ठाकुर ज्ञवाली र तारिणी प्रसाद लम्साल मध्ये एक जनालाई महानिरिक्षकमा नियुक्त गर्नेछ । महानिरिक्षक टुंगो लगाउन भन्दै हिजो बसेको बैठक ठोस निर्णयमा पुग्न नसकेपछि आज पुन बस्न लागेको हो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन मुल्याङकनमा पहिलो नम्बरमा रहेका ज्ञवालीको नाम मन्त्रीपरिषद बैठकमा पेश गर्न निर्देशन दिनुभएको छ । आज बस्नै मन्त्रीपरिषद बैठकमा ज्ञवालीको नाम पेश गर्न ओलीले गृहमन्त्री रामबहादुर थापा र मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिनुभएको हो ।
ओलीले हिजो मन्त्री थापा र सचिव रेग्मीलाई बोलाएर सो निर्देशन दिनुभएको वालुवाटार श्रोतले जनाएको छ । ज्ञवाली प्रदेश १ को प्रहरी प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।