गाजामा रेड क्रसकाे कार्यालय नजिकै रकेट आक्रमण, २२ जनाकाे ज्यान गयाे

काठमाडौं, ८ असार : रेसक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले गाजामा रहेको आफ्नो कार्यालय नजिक भएको आक्रमणमा कार्यालय परिसरमा शरण लिइरहेका २२ जनाको ज्यान गएको बताएको छ । रेड क्रसले शुक्रवार दिउँसो ठूला रकेट अन्तर्राष्ट्रिय समितिको कार्यालय र आवास नजिकै खसेको बताएको बीबीसीले जनाएको छ ।

आक्रमणबाट आईसीआरसी कार्यालय क्षतिग्रस्त भएको छ जहाँ आईसीआरसीका प्यालेस्टिनी सहयोगीसहित सयौँ विस्थापित मानिसहरू भवन परिसरमा पालमा बस्दै आएका थिए । रकेट आक्रमणमा अन्य ४५ जना घाइते भएका खबरमा उल्लेख छ ।

घटनाबारे इजरायली सुरक्षा बल (आईडीएफ) का प्रवक्ताले आईडीएफले त्यस क्षेत्रमा कुनै कारबाही नगरेको र घटनाबारे समीक्षा गरिरहेको बताएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने यो आक्रमणका लागि इजरायललाई जिम्मेवार ठहराएको छ ।

गएको अक्टोबर ७ तारिखमा हमासका लडाकुले इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । त्यसपछि इजरायलले गाजामा अन्धाधुन्ध आक्रमण गरिरहेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ तारिखदेखि अहिलेसम्म इजरायली आक्रमणबाट ३७ हजार जनाभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको छ । मारिनेमा धेरै महिला र बालबालिका रहेका छन् ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय