काठमाडौं, २ जेष्ठ : आजदेखि दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा आएका हुन । हास्य विधाको चलचित्र हेल्लो काँशिराममा अभिनेता दिलीप रायमाझी मुख्य भूमिका रहेको छ । चलचित्रमा सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, लगायतका कलाकारको विशेष अभिनय रहेको छ ।
निर्माण रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा रहेको चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माको रहेको छ । त्यस्तै निर्माता पी.बी. थापा, छायाकार यम आले, सम्पादन तथा रङ्ग संयोजन मित्र डी.गुरुङको रहेको छ भने नृत्य निर्देशन कविराज गहतराज, द्वन्द्व निर्देशन शंकर महर्जन, र संगीत संयोजन नरेन्द्र वियोगी तथा विपिन आचार्य रहेको छ । चलचित्रका गीतमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको स्वर सुन्न सकिन्छ । आजैदेखि प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘के घर के डेरा घर नं. २’ । यो चलचित्र पूर्ण रूपमा सामाजिक विषयवस्तुमा आधारित छ ।
दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्रको कथा चर्चित लेखक बुद्धिसागरद्वारा लेखिएको हो । चलचित्रमा उपासना सिंह ठकुरी, केकी अधिकारी, सिर्जना नापित, रुविना घिमिरे निश्चल बस्नेत, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, प्रकाश घिमिरे, संजोग रसाइली र सुरज विष्ट लगायतको अभिनय रहेको छ । कार्यकारी निर्माता युवराज कार्की, निर्माताहरु नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेको चलचित्र कृष्णबहादुर थापाको छायाँकनमा निर्माण भएको हो ।