पर्सि आइतवारदेखि एचपीभी खोप अभियान शुरू हुँदै

काठमाडौं, २३ माघ : पर्सि आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने तथा १० वर्ष पुगेका बालिकाहरुलाई खोप लगाईने छ ।

गएको वर्ष खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा तथा ११ देखि १४ वर्षका किशोरीलाई पनि खोप दिइनेछ । विद्यालय जाने बालिकालाई विद्यालयमै खोप लगाइनेछ भने विद्यालय नजाने किशोरीलाई नजिकको स्वास्थ्य संस्थाबाट खोप दिइनेछ । खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । एचपीभी खोपलाई सरकारले नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिसकेको छ । गएको वर्ष झन्डै १६ लाख किशोरीलाई एचपीभी खोप दिइएको थियो ।

अभियानमा ९४ प्रतिशतले खोप लगाएका थिए । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाको ज्यान जाने प्रमुख कारणमध्ये एक हो । यो क्यान्सर मुख्यतः ह्युमन पापिलोमा भाइरसको संक्रमणबाट हुने गर्छ । भाइरस छालाको सम्पर्कबाट सजिलै सर्ने भएकाले खोप नै सुरक्षित उपाय भएको डाक्टरहरुको भनाइ छ ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय