बखान’ उपन्यासलाई सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार

चितवन, १४ चैत : पत्रकार तथा आख्यानकार बसन्त पराजुलीको उपन्यास ‘बखान’ लाई सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ। साहित्य संगम चितवनले शनिबार भरतपुरमा आयोजित एक समारोहबीच पराजुलीलाई नगद २० हजार रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरेको हो।
संस्थाका उपाध्यक्ष चिराग भण्डारीका अनुसार साहित्य संगम चितवनले यसअघि १४ जना स्रष्टालाई सम्मान गरिसकेको छ। कार्यक्रममा साहित्यकार उदय अधिकारीले सहिद शिवप्रसाद पौडेलको संक्षिप्त परिचय प्रस्तुत गर्दै २०३७ सालको विद्यार्थी आन्दोलनका क्रममा भएको बलिदानको स्मरण गरे।
कार्यक्रममा वक्ताहरूले ‘बखान’ उपन्यासले स्थानीय मुद्दालाई राष्ट्रिय स्तरमा स्थापित गरेको उल्लेख गर्दै कृतिले चितवनको सामाजिक यथार्थ बोकेको धारणा राखे।
प्राध्यापक डा. कर्ण बानियाँले वास्तविक घटनालाई आख्यानीकरण गर्दै पत्रकारिता र साहित्यको सुन्दर संगम प्रस्तुत भएको बताए। उनका अनुसार उपन्यासको पहिलो अध्याय केही जटिल भए पनि दोस्रो अध्यायदेखि कथा प्रवाहले पाठकलाई आकर्षित गर्छ।
त्यस्तै सो अवसरमा साहित्यकार बालकृष्ण थपलिया, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठान परिषद् सदस्य प्रकाश चापागाईलगायतले कृतिको प्रशंसा गरे।
सम्मान ग्रहणपछि लेखक बसन्त पराजुलीले उक्त सम्मानले आफ्नो लेखनलाई अझ परिस्कृत र सुधार गर्न प्रेरणा मिलेको बताए। उनले वास्तविक जीवनका अनुभव तथा ज्येष्ठहरूसँग गरिएका संवादलाई आख्यानमा रूपान्तरण गरेको उल्लेख गरे।
साहित्यकार अनिल शर्मा ‘बिरही’ले ‘बखान’ ले विगतका बलिदानलाई वर्तमान आन्दोलन र उपलब्धिसँग जोड्दै यसको महत्व झल्काएको बताए।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा