काठमाण्डौसहित देशभर झरी, केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना

काठमाडौं, ३१ भदौ :

काठमाण्डौ उपत्यकासहित देशभर झरी परेको छ । आज दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही ठाउँमा अति ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना छ । भोलि पनि झरी पर्ने सम्भावना छ ।

गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो भने गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । भोलि पनि पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । यस्तै, नदी तथा खोला नालामा पनि आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानमा रहे पनि पूर्वी क्षेत्रमा सरदर स्थान भन्दा उत्तरमा सरेको छ । यस्तै, भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र बनेको छ ।

यसकै प्रभावका कारण हिजोदेखि मौसम बदली भइ पानी परिरहेको हो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस