सभामुख र उपसभामुखको निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं, २८ पुस : 

नेपाली कांग्रेसले आगामी माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनको तयारीबारे अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टीसभापति शेरवहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख/उपसभामुख निर्वाचनबारे छलफल गर्दै कांग्रेसबाट उम्मेदवार उठाउने/नउठाउने विषयमा अन्य दलहरुसँग समन्वय गर्ने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो ।

यस्तै, प्रदेश सभामुख र उपसभामुख निर्वाचनबारे निर्णयको अधिकार प्रदेश कार्यसमितिलाई दिने निर्णय समेत पदाधिकारी बैठकले गरेको छ । बैठकमा सहभागी सहमहामन्त्री बद्री पाण्डेले पार्टीको एक्लै मतले जित्ने अवस्था नरहेकाले सभामुखमा उम्मेदवारी दिने/नदिने बारे संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्ने जानकारी दिनुभयो ।

सभामुखको निर्वाचन माघ ५ गते तय गरिएको छ । उम्मेदवारी मनोनयन दर्ताको समय माघ ३ गते तोकिएको छ । सभामुख र उपसभामुखको निर्वाचनलाई मध्यनजर गरेर कांग्रेसले माघ ९ गते अघि सांसदहरुलाई उपत्यका नछोड्न उर्दि जारी गरेको छ ।

बैठकमा पार्टी केन्द्रीय समिति बैठकअघि नै भ्रातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ । कांग्रेसको महिला संघ, तरुण दल, नेविसंघ लगायतमा अध्यक्ष मात्रै नियुक्त गरिएको छ । अन्य पदाधिकारी तोकिन बाँकी छ । कांग्रेसले आउँदो माघ १५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा