सालकलाई मकवानपुरको “गौरबको प्राणी” घोषणा गरिँदै

मकवानपुर, १० माघ :

विश्वमै दुर्लभ अवस्थामा रहेको वन्यजन्तु सालक (प्यांगोलिन) लाई मकवानपुर जिल्लाको “गौरबको प्राणी” घोषणा गरिने भएको छ । मकवानपुरको करिब हरेक क्षेत्रमा पाईने शान्त एवम् लजालु स्वभावको स्तनधारी जनावर सालकको संरक्षण गर्ने उद्देश्यका साथ गौरबको प्राणीका रुपमा घोषणा गर्ने तयारी गरिएको हो ।

विश्वमै सालक प्रजातिहरू गम्भीर जोखिममा परेकाले संसारभर फेब्रुअरी महिनाको तेस्रो शनिबार सालक दिवस मनाइन्छ । यसै दिन पारेर आगामी फागुन ६ गते डिभिजन वन कार्यालय राप्तीको अगुवाइमा जिल्ला समन्वय समिति मकवानपुरको अभिभावकत्व एवम् स्थानीयतहहरुको व्यवस्थापकीय सहयोगमा गौरबको प्राणी घोषणा गर्न लागिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो । अन्तर्राष्ट्रिय सालक दिवसका अवसरमा एक कार्यक्रमका बिच सालकलाई जिल्लाको गौरबको प्राणीको रुपमा घोषणा गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

प्रमुख आचार्यका अनुसार आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति कालो सालक ९चाइनिज प्यांगोलिन० र तामे सालक (इन्डियन प्यांगोलिन) नेपालमा मात्र पाइन्छ । नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति सङ्कटापन्न वन्यजन्तु हो । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको यो जनावर मकवानपुर जिल्लामा भने यसको सङ्ख्या राम्रो रहेको छ । त्यसैले अर्को पुस्ताले पनि सालक देख्न पाओस् भनेर यसको संरक्षणका लागि गौरवकै प्राणीका रुपमा घोषणा गर्न लागिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय सालकको मासुले रोगव्याधी काट्ने पोषिलो हुने अन्धविश्वास, यसको खपटा दबाई हुन्छ, अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ भन्ने भ्रमका कारण चोरी निकासी भई लोप हुँदै गएको उहाँले बताउनुभयो । यसका साथै साँघुरिँदै गएको बासस्थान, वन क्षेत्रको अतिक्रमण, यसको वासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण र प्राकृतिक आहारको कमी हुँदै जानुले यो लोपोन्मुख अवस्थामा पुगेको हो । यसको संरक्षणका लागि कार्यालयले विभिन्न योजनाहरू समेत सार्वजनिक गरी अगाडी बढाइएको आचार्यले बताउनुभयो ।

सालकको संरक्षणको अवस्था, वासस्थान, परिस्थिकीय प्रणालीको ज्ञानमा अभिवृद्धि गर्ने, सालकको अवैध चोरी, शिकारी तथा व्यापार नियन्त्रण गर्ने, बासस्थानको संरक्षणका लागि खोजी एवं व्यवस्थापन गर्ने, स्थानीय जनताको उत्तरदायित्वको वृद्धि गर्ने जस्ता कार्यहरू भइरहेको उहाँले बताउनुभयो । जिल्लाका स्थानीय तहहरूको सहयोगमा सालकलाई गौरबको प्राणी घोषणा गर्ने र यसको संरक्षण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

सालक नेपालको संरक्षित वन्यजन्तु हो । संरक्षित वन क्षेत्रसँगै सामुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ । यो वन्यजन्तुले अक्सर घमाइलो र जुका नलाग्ने ठाउँमा बासस्थान बनाउँछ । समुद्रबाट करिब दुई हजार मिटरसम्मको उचाइमा विशेष गरी सालको जङ्गलमा सालक पाइने गरेको छ । झट्ट हेर्दा न्याउरी मुसाजस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा कत्ला ९खबटा० हुन्छ । यो सानो डाइनोसोरजस्तो पनि देखिन्छ । सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ । यो पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ । सालकको दाँत हुँदैन, जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ । यसको रङ्ग माटोसँग मिल्दोजुल्दो देखिन्छ । आहाराको खोजीमा रातमा मात्र निस्कने गर्छ । कतैबाट आक्रमण वा खतरा महसुस भयो भने यो भाग्दैन तर भकुन्डोको आकारमा थुतुनो केन्द्रमा पारेर गुजुल्टिएर बस्छ । खतरा महसुस नभए बिस्तारै गुजुल्टोबाट आफूलाई फुकाउँछ । विशेषगरी चीन, भियतनाममा औषधि बनाउन र मासु उत्पादनका लागि सालकको बढी माग हुन्छ । चीन र भियतनामका धेरैजसो रेस्टुरेन्टमा सालकको मासु खानु प्रतिष्ठासँग जोडेर हेर्ने चलन छ । त्यसैगरी यसको शरीरमा हुने खबटा बुलेट–प्रुफ ज्याकेट तथा उच्च कोटिको टाँक बनाउन र महँगा सौन्दर्यका सामग्री बनाउन प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।

प्रमुख आचार्यका अनुसार सालक किसानको साथी हो, यसले खेतीबाली र उत्पादनलाई नोक्सान गर्ने जीवलाई खाएर नियन्त्रण गर्छ । एउटा वयस्क सालकले एक दिनमा दुई लाख ३० हजार र वर्षमा करिब सात करोडसम्म त्यस्ता कमिला र धमिरा खाने गर्दछ । त्यसो नगर्ने हो भने किरा र कमिलाका कारण हाम्रा बालीनाली फस्टाउन सक्दैनथे । यसले जमिन खोस्रेर उर्वरा बनाउँछ । यसैकारण सालक जोगाउन आवश्यक छ । सालक हाम्रो संरक्षित वन्यजन्तु हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार सालक मार्ने, खरिदबिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने हुँदा कति पय अवस्थामा थाहै नपाइ पनि यसको सिकार हुने गरेकाले सचेतना फैलाउन पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

प्रधानमन्त्री शाहले गृहमन्त्री गुरूङसँग लिए लिखित स्पष्टीकरण

सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना शुरू