ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

Doctor measuring blood pressure - studio shot on white background

नवलपुर, ४ जेठ :

उमेरले बुढ्यौली लागेपछि हिँडडुलमा समस्या हुने भए पनि गाउँघरमै स्वास्थ्य सेवा पाउँदा गैँडाकोटका ८६ वर्षीय नारायणप्रसाद सापकोटा दङ्ग हुनुहुन्छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–८ कार्यालयले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरदैलोमै स्वास्थ्य परीक्षणसहितको सेवा उपलब्ध गराएपछि उहाँ खुसी हुनुभएको हो ।

“उमेर ढल्किदै गएपछि हामीलाई यताउता हिँड्डुन गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “यसरी वडा कार्यालयले टोलमै स्वास्थ्य सेवा दिन थालेपछि स्वास्थ्य परीक्षण गर्न र औषधि उपचारका लागि सहज भएको छ ।” गाउँमै स्वास्थ्यकर्मी आएर स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि दिने गरेका सापकोटाले बताउनुभयो ।

गैँडाकोट–८ कालिका टोलकी ८१ वर्षीया राममाया कँडेल यसअघि उपचारका लागि चर्को घाममा हिँडेर स्वास्थ्यचौकी तथा अस्पताल पुग्ने गर्नुहुन्थ्यो । अहिले घरआँगनमै उपचार पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । “सामान्य उपचारका लागि हिँडेरै स्वास्थ्यचौकी वा अस्पताल पुग्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले घरमै स्वास्थ्य जाँचको सुविधा पाएका छौँ ।”

यसैगरी गैँडाकोट–८ की ७९ वर्षीया मनरुपा सापकोटाले कालिका मन्दिर कालिका आश्रममा पुगेर बुधबार स्वास्थ्य परीक्षण गराउनुभयो । उहाँलाई स्वास्थ्यकर्मीले औषधिसमेत उपलब्ध गराउनुभयो । “बल्ल स्थानीय सरकार रैछ भन्ने आभास भएको छ”, उहाँले भन्नुभयो ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति पालिका सचेत रहेको बताउनुभयो । उहाँले गैँडाकोट–८ मा सुरु भएको यो कार्यक्रम नगरका अन्य वडामा पु¥याउने गरी कार्यविधि निर्माण भइरहेको बताउनुभयो । ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउँदा अस्पताल पु¥याउन समस्या हुने भएकाले पालिकाले विशेषज्ञ चिकित्सकसहितको टोली घरमै पठाएर सेवा दिन थालेको उहाँको भनाइ छ ।

गैँडाकोट–८ का वडाध्यक्ष प्रेम सापकोटाले वडा कार्यालयको आर्थिक सहयोग एवं आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा वडाका हरेक टोलमा स्वास्थ्य शिविर सञ्चालन गरिने बताउनुभयो । वडाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा मात्रै नभएर अरु बेलामा पनि नियमित स्वास्थ्य परीक्षण गराउन उहाँले ज्येष्ठ नागरिकलाई आग्रह गर्नुभयो । वडाका ११ वटै टोलमा पालैपाले नियमितरुपमा स्वास्थ्य शिविर सञ्चालन गरिने वडाध्यक्ष सापकोटाको भनाइ छ । शिविरमा रक्तचाप, मधुमेह, रुघाखोकी, ज्वरोलगायतका बिरामीलाई औषधिसमेत वितरण गरिएको थियो । (रासस)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस