कोशी प्रदेश सभा बैठक अनिश्चित : उपसभामुख काठमाण्डौमा, सांसदहरु अलमलमा

काठमाडौं, ४ भाद्र : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि आज बोलाइएको प्रदेशसभा बैठक अनिश्चित भएको छ । सभामुखको जिम्मेवारीमा रहनुभएकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि भन्दै बिहान काठमाण्डौतर्फ लाग्नुभएको छ । उहाँ विराटनगरबाट काठमाण्डौतर्फ लागेपछि सांसदहरु अलमलमा परेका छन् ।

उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेशसभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्ने अङ्क गणितीय जटिलता छ । सभामुख रहेका बाबुराम गौतमले यसअघि नै थापाको मुख्यमन्त्री पद जोगाउन राजीनामा दिनुभएको छ । सभामुख र उपसभामुख दुवै नहुँदा प्रदेशसभा ज्येष्ठ सदस्यले चलाउने प्रावधान छ । एमालेले उपसभामुखलाई अनुपस्थित गराउने डरका कारण सत्ता गठबन्धनले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई यसअघि नै मन्त्रीमा नियुक्त गरिसकेको छ ।

एमाले र राप्रपाले पनि मण्डलपछिका आठ जना ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर सत्ता गठबन्धन दलकै सांसदलाई प्रदेश सभाको अध्यक्षता गर्ने अवस्था सिजना गर्न लागेका छन् । मण्डलपछिका ज्येष्ठ सदस्य रहेका एमाले र राप्रपाका सांसदहरुले हिजो नै प्रदेशसभा सचिवालयमा बिदा मागेका छन् । ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद छन् ।

प्रमुख प्रतिपक्षी एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी प्रतिपक्षमा ४६ प्रदेश सांसद छन् । प्रदेशसभामा विश्वासको मत लिन ४७ सदस्यको समर्थन आवश्यक छ । सत्तारुढ गठबन्धनसँग बहुमत ४७ सदस्य छन् । तर त्यो बहुमत उपसभामुख दनुवार वा एमाले र राप्रपाका अध्यक्ष मण्डलका सदस्य र ज्येष्ठ सदस्यले प्रदेशसभा बैठकको अध्यक्षता गरिदिने अवस्थामा मात्रै कायम रहन्छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा