काठमाडौं , २२ पौष : अमेरिकी वायुसेवा नियामक निकायले अमेरिकाको अलास्क एयरलाइन्सको उडानका क्रममा विमानको एक भाग खसेपछि बोइङ ७३७ म्याक्स नाइन जेटको विमान उडानमा रोक लगाएको छ ।
गत शुक्रबार अलास्का एयरलाइन्सकोे विमान अमेरिकी राज्य ओरेगनबाट क्यालिफोर्नियाका लागि उडान भर्ने क्रममा विमानको एक भाग खसेपछि आतपकालीन अवतरण गरिएको थियो । उक्त घटनालगत्तै कम्पनीले आफ्ना सबै विमानको उडान रोकेर परिक्षण गर्ने जनाएको थियो । योसंगै अमेरिकी वायुसेवा नियामक निकायले नै विमान कम्पनीका १ सय ७१ वटै म्याक्स विमानको उडानमा रोक लगाउँदै आवश्यक निरीक्षण थालेको हो ।
विमान उडानमा रोक लगाइएसँगै करिब ६० उडान रद्द भएका छन् । यी सबै विमानको जाँच गर्ने र त्यसपछि मात्र उडान गर्न अनुमति दिइने बताइएको छ । अमेरिकाको पोर्टल्याण्ड ओरेगनबाट ओन्टारियो क्यालिफोर्निया प्रस्थान गरेको अलास्का एयरलाइन्सको बोइङको सिसासहितको एक भाग झरेको थियो ।
यसपछि फर्काइएको विमान सकुशल आपतकालीन अवतरण गरेको थियो । जहाजमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । -एजेन्सी



