भारतको पश्चिम बङ्गालमा भारी वर्षा र आँधी, चारजनाको ज्यान गयो

काठमाडौं, १९ चैत्र : भारतको पश्चिम बङ्गालको जलपाईगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पुर्‍याएको छ । गर्मीको समयमा आउने ‘काल वैशाखी’ नामको आँधीका कारण रुख ढल्दा लागेर चारजनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । आँधीमा परेर घाइते भएका तीनसय जनालाई अस्पताल भर्ना गरिएको छ ।

तीमध्ये २० जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । जलपाईगुडीका एक स्थानीय बासिन्दाले धेरै शक्तिशाली आँधीले त्यस क्षेत्रका धेरै ठाउँमा असर गरेको बताएका छन् । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले यस विपत्तिसँग जुध्न नागरिकलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिनुभएको छ । उहाँ गएराति नै घटनाको जानकारी लिन र घाइतेहरूलाई भेट्न आँधी प्रभावित क्षेत्रमा जानुभएको थियो । उहाँँले मृतक र घाइतेका आफन्तलाई जिल्ला प्रशासनले आचारसंहिता पालना गरी नियम कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने बताउनुभएको छ ।

उहाँले विपद् व्यवस्थापन कार्यमा सम्बन्धित सबैलाई संलग्न भएर राहत दिन आग्रह गर्नुभएको छ । यस प्रकोपबाट प्रभावित मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा