काठमाडौं, ३ साउन : नेपालसहित चार वटा देशमा सञ्चालित स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमलाई सहयोग गर्न विश्व खाद्य कार्यक्रम अमेरिका र लायन्स क्लब इन्टरनेशनल फाउन्डेशन (एलसीआईएफ) ले संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का लागि ४० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् ।
आज काठमाण्डाैमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, डब्ल्यूएफपीका प्रतिनिधि तथा कन्ट्री डाइरेक्टर रोबर्ट कास्का र लायन्स इन्टरनेशनलका अध्यक्ष फाब्रिसियो ओलिभेराले कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् । यो अनुदानले नेपाल सरकारको पहलमा शुरु भएको विद्यालय दिवा खाजा कार्यक्रमलाई थप टेवा पुग्नेछ । विद्यालय दिवा खाजा कार्यक्रम (मिड–डे मिल प्राेग्राम) मार्फत यो अनुदानबाट कर्णाली प्रदेशको सुर्खेत र जाजरकोट जिल्लाका आठ सय वटाभन्दा बढी विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका ९० हजार जनाभन्दा बढी विद्यार्थी लाभान्वित हुनेछन् । लायन्स क्लब इन्टरनेशनलका अध्यक्ष फाब्रिसियो ओलिभेराले लायन्स क्लब इन्टरनेशनल फाउन्डेशन र विश्व खाद्य कार्यक्रम अमेरिकाको सहयोगमा नेपाल र विश्वभरका बालबालिकाहरूका लागि पौष्टिक र पर्याप्त खानामा नियमित पहुँच सुनिश्चित गर्न काम गरिरहेकाे बताउनुभयाे ।
विद्यालय दिवा खाजा कार्यक्रमले बालबालिकाहरूको शिक्षा, स्वास्थ्य तथा पोषणमा सुधारका निम्ति अनवरत रूपमा काम गर्दै आइरहेको छ, स्थानीय उत्पादनमा आधारित यसकाे अवधारणा र अभ्यासले गर्दा स्थानीय किसान तथा समुदाय लाभान्वित हुँदै आइरहेका छन् । स्थानीय किसानहरूसँगको साझेदारीमा सञ्चालित यो कार्यक्रमले स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै भरपर्दो खाद्य प्रणाली सिर्जना गरेको छ भने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, जलवायु परिवर्तन न्यूनीकरण र दिगो विकासको लक्ष प्राप्तिका लागि महत्त्वपूर्ण भूमिका खेल्दछ ।
विश्व खाद्य कार्यक्रम विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि हातेमालो गर्ने विश्वको सबैभन्दा ठूलो संस्था हो । यो संस्थाले समुदाय, सरकार र निजी क्षेत्रसित साझेदारी गरेर विद्यालयका बालबालिकाहरूलाई गुणस्तरीय दिवा खाजाको पहुँच सुनिश्चित गर्दछ । यो कार्यक्रमको उद्देश्य विद्यालयप्रति छात्रछात्राको आकर्षण बढाउन, विद्यार्थीहरूको पोषणको साथसाथै स्वास्थ्यमा सुधार ल्याउन लैङ्गिक समानताका लागि र स्थानीय उत्पादन र बजारीकरणको संवाहकको भूमिका निर्वाह गर्नु हो । नेपालमा दिवा खाजा कार्यक्रमले दैनिक ३० लाख जनाभन्दा बढी विद्यार्थीहरूलाई फाइदा पुर्याउँछ।





