फागुन महिनामा गाडी दुर्घटनामा २ सय १ जनाकाे ज्यान गयाे

काठमाडौं, ६ चैत्र : फागुन महिनामा गाडी दुर्घटनामा परेर देशभर दुई सय एक जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनमा चार हजार दुई सय ८९ वटा गाडी दुर्घटना हुँदा दुई सय एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा एक सय ५३ पुरुष, ३३ महिला, १० बालक र पाँच जना बालिका छन् । फागुनमा गाडी दुर्घटनामा ६ सय ३६ जना गम्भीर घाइते भएका छन् ।

यस्तै तीन हजार चार सय ६६ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ । फागुन महिनामा सबैभन्दा धेरै २ हजार ४ सय २३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी आठ सय नौ, बस एक सय ८६, टेम्पो दुई सय ६ वटा दुर्घटनामा परेका छन् । २ सय ५८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ । सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।

गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु, चालक अनुमतिपत्र नभएकाले चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले फागुन महिनामा एक लाख १६ हजार दुई सय ३१ जना चालकलाई कारबाही गरेर नौ करोड ५० लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस