हमास सत्ताबाट हट्नुपर्ने माग गर्दै गाजामा युद्ध शुरू भएयताकै ठूलो प्रदर्शन

काठमाडौं, १३ चैत : गाजामा शासन गरिरहेको प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्ध गाजामै ठूलो प्रदर्शन भएको छ । हमास सत्ताबाट हट्नुपर्ने माग गर्दै उत्तरी गाजाको बेत लाहियाको सडकमा सयौं मानिसहरूले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । यसअघि पनि हमासविरुद्ध प्रदर्शन हुने गरेकोमा यो इजरायल–गाजा बीचको पछिल्लो युद्ध शुरू भएयताकै ठूलो प्रदर्शन रहेको बीबीसीको खबरमा उल्लेख छ ।

यसैबीच मुखौटा लगाएका हमास लडाकूहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरेका छन् । केही लडाकूहरूको हातमा हतियार पनि रहेको र उनीहरूले प्रदर्शनकारीहरूलाई कुटपिटसमेत गरेका बीबीसीले जनाएको छ । हमास समर्थकहरूले भने प्रदर्शनकारीहरू देशद्रोही रहेका आरोप लगाएका छन् । हमासले प्रदर्शनबारे आधिकारिक प्रतिक्रिया दिएको छैन । झन्डै दुई महिनाको युद्धविरामपछि इजरायलले गाजामा आफ्नो सैन्य अभियान पुनः शुरू गरेको छ । युद्धविराम बढाउने नयाँ अमेरिकी प्रस्तावलाई हमासले अस्वीकार गरेको इजरायलको आरोप छ ।

हमासले भने इजरायललाई जनवरीमा सहमत भएको मूल सम्झौता त्यागेको आरोप लगाएको छ । मार्च १८ मा हवाई आक्रमणसहित इजरायली सैन्य कारबाही पुनः शुरू भएदेखि सयौं प्यालेस्टिनीहरू मारिएका छन् भने हजारौं विस्थापित भएका छन् । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायमा आक्रमण गर्दा एक हजार दुई सय जनाको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो ।

यो आक्रमणपछि इजरायलले गाजामा शुरू गरेको कारबाहीमा अहिलेसम्म ५० हजार जनाभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस