गण्डकीमा ८ जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

काठमाडौं, १८ असार : गण्डकी प्रदेशका कास्की, बागलुङ, तनहुँ, म्याग्दी, मनाङ, लमजुङ, पर्वत र गोरखालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि आठवटै जिल्लालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो ।

प्रदेशका बाँकी जिल्ला स्याङ्जा, नवलपुर र मुस्ताङलाई यही असारभित्र पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कास्कीलाई अस्ति सोमवार र लमजुङलाई हिजो मङ्गलवार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्यमन्त्री कृृष्णप्रसाद पाठकले बताउनुभयो । पहिलो पटक २०७५ सालमा गण्डकी प्रदेश नै पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि त्यसयता बर्सेनि हरेक पालिका, जिल्ला र प्रदेशलाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको उहाँको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जन्मेदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्णखोप सुनिश्चितता एवम् दिगोपना घोषणा गर्ने गरिएको छ । घोषणासँगै यसको दिगोपनाका लागि हरेक वर्ष खोप अभियान सञ्चालन गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा