महोत्तरी, २१ साउन : महोत्तरीका उखुखेती गर्ने किसान आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूले अनुदानको निरन्तरताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । किसानले हिजो गौशाला–१ रामनगरको एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शन गरेका छन् । उखु उत्पादक कृषक महासङ्घका सदस्य महाशङ्कर थिङका अनुसार किसानले मुख्य रूपले उखुखेतीमा सरकारले दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने, गएको आर्थिक वर्ष २०८१/८२ को अनुदानबापतको रकम तुरुन्त उपलब्ध गराउनुपर्ने, वर्षेनि उखुको मूल्य निर्धारण गरिनुअघि उखु किसानका प्रतिनिधि, चिनी उद्योग र सरकारबीच सहमति गरिनुपर्ने लगायतका माग राखेका छन् ।
माग सम्बोधन नभए आउँदो भदौ ८ गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने सङ्घले जनाएको छ । महोत्तरीमा गएको आर्थिक वर्ष २०८१/८२ मा उखुबाट किसानले २१ करोड ७२ लाख ९१ हजार रुपैयाँ पाउनुपर्ने छ । -रासस





