भारतले आज ७९ औं स्वतन्त्रता दिवस मनाउँदै

काठमाडौं, ३० साउन : भारतले १५ अगस्टका दिन आज आफ्नो ७९ औं स्वतन्त्रता दिवस मनाउँदैछ । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी लगातार १२ औं पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड कायम गर्नुहुनेछ । योसँगै उहाँ पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको लगातार ११ पटकको झण्डा फहराउने रेकर्ड तोड्नुहुनेछ ।

मोदी २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेपछि हरेक वर्ष स्वतन्त्रता दिवसमा लाल किल्लाबाट देशलाई सम्बोधन गर्दै आउनु भएको छ । सन् १९४७ अगस्ट १५ मा करिब दुई शताब्दी लामो ब्रिटिश उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो । १८ औं शताब्दीको मध्यतिर इस्ट इन्डिया कम्पनीमार्फत शुरु भएको ब्रिटिश प्रभाव, पछि प्रत्यक्ष उपनिवेशमा रूपान्तरण हुँदै, राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा गहिरो प्रभाव पारेको थियो ।

स्वतन्त्रताको यात्रामा महात्मा गान्धीको अहिंसात्मक आन्दोलन, जवाहरलाल नेहरू, सरदार बल्लभभाई पटेल, सुभाषचन्द्र बोसलगायतका नेताहरूको योगदान निर्णायक रह्यो । स्वतन्त्रता प्राप्तिपछि भारतले लोकतान्त्रिक गणतन्त्रको बाटो समातेको थियो । तर स्वतन्त्रताको दिनसँगै विभाजनको पीडादायी इतिहास पनि जोडिएको छ, जसले भारत र पाकिस्तान दुई स्वतन्त्र देशको रूपमा जन्म दिएको थियो । विभाजनका क्रममा लाखौं मानिस विस्थापित भए र ठूलो जनधनको क्षति भयो ।

भारतको स्वतन्त्रता दिवस केवल एक ऐतिहासिक घटना मात्र नभई लोकतन्त्र, एकता र निरन्तर प्रगतिप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा मनाइन्छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा