मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

काठमाडौं, ५ फागुन : आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी हिजाे बेलुकी सम्पन्न गरिएको जानकारी दिनुभयो ।

आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उहाँले बताउनुभयो । प्रबन्ध निर्देशक पौडेलले भन्नुभयो, ‘प्रत्यक्षतर्फ २ करोड ३ लाख मतपत्र छपाइ कार्य हिजाे बेलुकी सम्पन्न गरेका छौँ । ४२ दिनको कार्यतालिका लिएर छपाइ शुरू गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउँछौँ ।’ केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो ।

यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ भने २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ । प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्‍याउने गरी काम भइरहेको जानकारी दिनुभयो । -रासस

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा