चितवन, २४ चैत : पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भीरको भित्तो काट्ने काम सम्पन्न भएको छ । ६ दिनसम्म रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरेको मुग्लिन–मलेखु सडकका सूचना अधिकारी सचेन्द्र मिश्रले जानकारी दिनुभयो ।
उहाँकाअनुसार घोप्टेभीरको २५० मिटर लामो सडकमा झन्डै ५० मिटर माथिबाट भित्तो काटेर सडकलाई थप ४ मिटर फराकिलो बनाइएको छ । भित्तो काटिएसँगै अब सडक १२ मिटर फराकिलो भएको छ । यस्तै मनकामना केबुलकारबाट रमाइलो डाँडा जाने सडकको बीच भागमा पर्ने अर्को एक भित्तो काट्ने काम आधा सकिएको र त्यहाँ ७० मिटर सडक छेउको भित्तो काटेर विस्तार गर्ने योजना रहेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।
समग्रमा यहाँ सडक विस्तारको काम ४१ प्रतिशत सम्पन्न भएको छ । अहिले कालोपत्र गर्ने, नाला बनाउने, पर्खाल लगाउनेजस्ता काम भइरहेका उहाँले बताउनुभयो । २०७९ सालको पुस १५ गते तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडकको ठेक्का सम्झौता भएको थियो । समयमा काम नसकिएपछि ६ महिना म्याद थप भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरणमा बोलपत्र आह्वान भएको हो । अहिले काम भइरहेको क्षेत्र तेस्रो चरणअन्तर्गत पर्दछ । -रासस





