चितवन, १ जेष्ठ : भरतपुर महानगरपालिकाको नमुना उन्मुख विद्यालय मा छनौट भइ नमुना विद्यालय तर्फ उन्मुख भरतपुर –१३, चम्पानगरमा अवस्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयमा शौक्षिक सत्र २०८३ का लागि १ सय १० जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।
विद्यालयका सहायक प्रधानाध्यापक सुनिल सिटौलाका अनुसार नयाँ भर्ना उत्साहजनक रूपमा भइरहेको बताए । “हामी नमुना विद्यालय तर्फ उन्मुख छौं त्यसकारण पनि हाम्रो विद्यालयको गुणस्तरीय प्रविधीमैत्री शिक्षा सबैको रोजाईमा परेको छ ।” शौक्षिक सत्र २०८३ मा गीतानगर श्रोतकेन्द्र अन्तर्गत सबै अभिभावकको रोजाइमा परेको असल संस्कार, सुशासन, अनुशासन गुणस्तरीय प्रविधीमैत्री शिक्षा हिमालयको प्रतिबद्धता भन्ने नाराका साथ यस शैक्षिक सत्र २०८३ मा प्ले ग्रुप देखि कक्षा ९ सम्म नयाँ भर्ना उत्साहजनक रूपमा भइरहेको विद्यालयका प्रधानाध्यापक भानुभक्त सुवेदीले बताए । आगामी ५ वर्ष भित्र रणनैतिक योजनाका रूपमा विद्यालयको वर्तमान शैक्षिक गुणस्तरलाइ उच्च बनाइ विद्यालयलाइ जिल्लाकै अग्रणी विद्यालयको रूपमा चिनाउने दिर्घकालीन योजना रहेको प्रधानाध्यापक सुवेदीले बताए ।

अंग्रेजी भाषा शिक्षण प्रयोगशाला, गणित शिक्षण प्रयोगशाला ,सामाजिक अध्ययन शिक्षण प्रयोगशाला , विज्ञान शिक्षण प्रयोगशाला एवम सुचना तथा सञ्चार प्रविधिले सुसज्जित यस विद्यालयमा हरियाली वातावरण बगैंचा, र बोटविरुवाले विद्यालयलाई आकर्षण दिइरहेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विमला ओझाले बताईन् । उनका अनुसार विद्यालय व्यवस्थापन समिति, कर्तव्यनिष्ट शिक्षक कर्मचारी, चुस्त विद्यालय प्रशासनको त्रिकोणात्मक आयाममा अगाडि बढिरहेको बताईन् । विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई) २०८२ मा ७९.१६ प्रतिसत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । चितवन जिल्ला र भरतपुर महानगरमा विद्यालय चौथो स्थानमा पर्न सफल भएको छ ।





