काठमाडौं, ३ जेष्ठ : कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या ८० जना पुगेको छ । कङ्गोको स्वास्थ्य मन्त्रालयले ८० जनाको ज्यान गएको जनाएको हो । स्वास्थ्यमन्त्री स्यामुएल रोजर कम्बाले विशेष प्रयोगशाला परीक्षणबाट इबोला भाइरसको आठ वटा प्रारम्भिक घटना पुष्टि गरेको बताउनुभयो ।
कम्तिमा २४६ वटा शङ्कास्पद नमुनामा निगरानी भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था क्युएनएले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले इबोलालाई विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ, तर डब्लूएचओले महामारी भने भनेको छैन । कङ्गोसँग जोडिएको युगान्डामा इबोलाको एउटा केस फेला परेको र केन्याले सबै प्रवेश बिन्दुमा निगरानी कडा पारेको छ ।
इबोला भाइरसबाट सङ्क्रमित बिरामीमध्ये २५ प्रतिशतदेखि ९० प्रतिशतसम्मको ज्यान जाने गरेको छ । यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा फेला परेको थियो । सङ्क्रमित व्यक्तिको रगत वा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट रोग सर्ने गर्छ ।





