चितवन, २ जेष्ठ : नेकपा (एमाले) जिल्ला कमिटी चितवनले आइतबार बिहान मदन–आश्रित दुर्घटनास्थल दासढुंगा पुगी नेता द्वयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल ¥यालीसहित दुर्घटनास्थल दासढुङ्गा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेता द्वयको शालिकमा माल्याणर्पण गरी दिवंगत नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञवाली रहेका थिए । उनले सो अवसरमा मदन–आश्रितले छोडेर गएको विचारले अप्ठयारोमा पनि जुटिरहने सङ्कल्प प्राप्त भएको धारणा व्यक्त गरे । त्यस्तै बागमती प्रदेशसभा संसदीय दलका नेता एवम् पार्टीका केन्द्रीय सदस्य जेएन थपलियाले नेता द्वयको तेजश्वी सोचलाई अझ उँचोका साथ अगाडि बढाउन प्रण गर्नुपर्ने बताए ।
जिल्ला पार्टी अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रम जिल्ला सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए । एमाले, चितवनले मदन आश्रित स्मृति दिवस मनाउन पाँच दिने कार्यक्रम तय गरेको थियो । सोही कार्यक्रम अन्तर्गत जेठ ४ गते ‘जनताको बहुदलीय जनवादको कसीमा वर्तमान अवस्था र आगामी कार्यभार’ विषयक अन्तक्र्रिया कार्यक्रम तय भएको सचिव ढुंगानाले बताए । कार्यक्रम जिल्ला समन्वय समितिको सभाकक्षमा बिहान ११ बजे हुनेछ । एमाले चितवनको व्यवस्थापनमा हुने कार्यक्रम पार्टीको शुभेच्छुक संस्था मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने छ ।
त्यस्तै मदन भण्डारीको शव फेला परेको स्थान पश्चिम चितवनको गाजीपुरमा रहेको मदन पार्कमा जेठ ५ गते श्रद्धाञ्जली कार्यक्रम हुने पार्टी जिल्ला सचिव ढुंगानाको भनाइ छ ।
२०५० साल जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा पर्नुभएका पार्टीका तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख कुशल संगठक जीवराज आश्रितको स्मृतिमा दुर्घटनास्थल कविलासको दासढुंगामा श्रद्धाञ्जली सभाको आयोजना गरी स्मृति दिवस मनाउँदै आएको छ । नेकपा (एमाले)ले सो दुर्घटनालाई नेता द्वयको रहस्यमय हत्या भन्दै आएको छ ।





