बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

काठमाडौं, १० कात्तिक : बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि बुधबार रातिदेखि पर्ने भएको छ । पर्सि बिहीबार, शुक्रबार र शनिबार देशका विभिन्न ठाउँमा ठूलो वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिनमार्फत पर्सि बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै महाशाखाले शुक्रबार र शनिबार कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुन सक्ने चेतावनी दिएको छ ।

यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत अत्यधिक जोखिम रहेको छ । यो बेला सकेसम्म लामो दूरीको यात्रा नगर्न, पदयात्राका योजना स्थगित गर्न तथा पाकेको बाली धान नकाट्न सल्लाह छ । मुख्य बाली धान काटेको भए तत्कालै भित्र्याउन र खेतमै भए अब मौसम खुलेपछि मात्रै काट्न र भण्डारण गर्न नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानलाई आग्रह गरेको छ ।

बंगालको खाडीमा रहेको गहिरो न्यूनचापीय प्रणाली हिजो चक्रवातमा परिणत भएको छ । ‘अर्णव’ नाम दिइएको यो चक्रवात आज बेलुकासम्म भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने देखिएको भारतीय मौसम विभागले अनुमान गरेको छ ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने