काठमाडौं, ११ कात्तिक : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका शान्ति प्रक्रियाहरूमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न जोड दिनुभएको छ । २६ वर्षअघि पारित सुरक्षा परिषद्को प्रश्ताव १३२५ को मर्मलाई व्यवहारमा उतार्न नसकिएको भन्दै उहाँले शान्ति वार्ता, बजेट विनियोजन र नीति निर्माणको हरेक तहमा महिलाको उपस्थिति अपरिहार्य रहेको बताउनुभएको छ ।
महासचिव गुटेरेसले मंगलवार एक सम्बोधनमार्फत शान्ति र सुरक्षा एजेण्डालाई अघि बढाउन तीनवटा मुख्य क्षेत्रमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । उहाँकाअनुसार पछिल्लो समय ५७ वटा शान्ति प्रक्रियामा महिला वार्ताकारहरूको उपस्थिति केवल ५ प्रतिशत मात्र रहनु निकै चिन्ताजनक छ । पहिलो प्राथमिकताका रूपमा उहाँले प्रत्येक शान्ति सम्झौतामा महिलाका आवश्यकताहरूलाई समेट्न र वार्ताको टेबुलमा महिलालाई अनिवार्य सहभागी गराउन आग्रह गर्नुभएको छ । उहाँले ‘कमन प्लेज’ अन्तर्गत बाध्यात्मक कोटा र लक्ष्यहरू निर्धारण गरी कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ ।
दोस्रो प्राथमिकताका रूपमा उहाँले द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने महिला अधिकारवादी संस्थाहरूका लागि आर्थिक सहयोग बढाउनुपर्नेमा जोड दिनुभयो । बलपूर्वक विस्थापनमा परेका र हिंसाको जोखिममा रहेका महिलाहरूलाई सहयोग पुर्याउन अन्तर्राष्ट्रिय समुदायले आफ्नो प्रतिवद्धता पूरा गर्नुपर्ने उहाँको भनाइ छ ।
तेस्रो र महत्वपूर्ण बुँदाका रूपमा महासचिव गुटेरेसले महिला र बालिकाहरूविरुद्ध हुने हिंसामा ‘शून्य सहनशीलता’ को नीति अपनाउनुपर्ने बताउनुभयो । उहाँले शान्ति निर्माणमा खटिएका महिला र मानवीय सहायताकर्मीहरूमाथि हुने आक्रमणका दोषीहरूलाई पूर्ण जवाफदेही बनाउनुपर्ने र उनीहरूमाथि लगाइएका सबै खाले प्रतिबन्धहरू हटाउनुपर्नेमा जोड दिनुभयो । गुटेरेसले समानतालाई सपना नभई एउटा दृढ निर्णयका रूपमा लिन विश्व समुदायलाई आग्रह गर्नुभयो ।





