युरोपेली युनियनको शिखर बैठक सोमबार पुनः बस्ने

ब्रसेल्स, ५ साउन :

कोरोनाभाइरसका कारण संकटमा परेका युरोपेली मुलुकहरुको आर्थिक उत्थानका लागि अघि सारिएको ८ खर्ब ६० अर्ब डलरको एउटा राहत योजनामा सहमति जुटाउन युरोपेली युनियनका नेताहरु पुनः सोमबार वार्तामा बस्न लागेका छन् ।

यस शिखर बैठकमा युरोपेली युनियनमा आबद्ध २७ मुलुकका सरकार प्रमुखहरु सहभागी हुनुहुन्छ । कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देशहरुमा स्पेन, इटाली समेतका बहुसंख्यक युरोपेली देशहरु पनि रहेका छन् । युरोपमा मात्र कोरोनाभाइरसका कारण दुई लाखभन्दा बढीको मृत्यु भएको थियो ।

तर शिखर बैठकमा नेताहरुबीच प्रस्तावित योजना र रकमको बाँडफाँडका विषयमा मतैक्य हुन सकेको छैन । युरोपेली युनियनले तयार पारेको प्रस्तावमा अनुदान र ऋणको भारका विषयमा युरोपेली नेताहरुबीच फरक फरक धारणा छ ।

नेताहरुबीच मतैक्य हुन नसकेपछि निराश हुनु भएका युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिचेलले सहभागी नेताहरुलाई युरोपेली जनताप्रति जिम्मेवार हुन र युरोपेली एकता निर्माणलाई सक्षम तुल्याउन आग्रह गर्नु भएको छ । उहाँले संकटलाई मानवीय मूल्यसँग नदाँज्न आग्रह गर्नु भएको छ ।

नेदरल्याण्ड्स समेतका केही युरोपेली मुलुकका नेताहरुले करिब ७ खर्ब ५० अर्ब युरो स्पेन र इटालीजस्ता सुशासनमा कमजोर देखिएका मुलुकलाई सित्तैमा बाँड्न नहुने बताइरहेका छन् । नेदरल्याण्ड्स समेतका केही मुलुकको अबरोधका कारण प्रस्तावित योजना पारित हुने आशा अत्यन्त झिनो भएको जर्मनीका चान्सलर एन्जेला मर्केलले यसअघि नै बताइसक्नु भएको छ ।

तैपनि शीर्ष बैठक जारी राख्न सबै मुलुक सहमत भएका छन् । युरोपेली महादेशका धेरैजसो देशले कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याइसकेका छन् र जनजीवन अझ सहज तुल्याउन विभिन्न योजना अघि सारिएका छन् ।

फ्रान्सले सिनेमा हलजस्ता भित्री सार्वजनिक स्थलमा अनुहारमा मास्क लगाउन अनिवार्य गरेको छ भने कोरोनाभाइरसका केही बिरामी देखिएपछि स्पेनमा लाखौं मानिसलाई घरभित्रै बस्न भनिएको छ । जर्मनीको बाभारिया राज्यले भने आफ्ना विमानस्थलमा निःशुल्क भाइरस परीक्षणको व्यवस्था मिलाएको जनाएको छ ।

तर लन्डनमा मास्क विरोधी प्रदर्शनले सरकारी निकायमाथि थप दबाब सिर्जना गरेको छ । इङ्ल्यान्डका पसल एवं सुपरमार्केटमा दर्जनौं प्रदर्शनकारीले मास्क लगाउन बाध्य बनाइएको भन्दै आइतबार त्यसको विरोध गरेका छन् । (रासस-एएफपी)

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा