पहिरामा परी तीनको मृत्यु : पुष्पलाल लोकमार्ग अवरुद्ध

बागलुङ, ३१ साउन :

निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएराति गएका पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय बालक प्रवेश विक र वडा नं. ३ का ६० वर्षीया बली विक रहेका छन् । घरमाथिबाट खसेका पहिरामा पुरिएका तीनै जनालाई मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । मृतक वीरेन्द्र स्थानीयवासी हिरा विक र प्रेवश दिलसरा विकका छोरा हुन् ।

साठी वर्षीया मृतक बली ठुच्चे विककी श्रीमती रहेको प्रहरीले जनाएको छ । त्रिपन्न वर्षीया दिलसरा सामान्य घाइते भएपछि स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । पहिरा गएको खबर पाउनसाथ प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गएको प्रहरी टोली पनि घटनास्थल पुगेको छ । अविरल वर्षासँगै खसेका पहिराले निसीखोलामा पर्ने मध्यपहाडी पुष्पलाल लोकमार्ग पनि अवरुद्ध भएको जनाइएको छ । (रासस)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस