राष्ट्रसंघीय आपतकालीन कोषमा ३७ करोड डलरको प्रतिबद्धता

संयुक्त राष्ट्रसंघ, २४ मंसिर :

संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषका लागि ५० भन्दा बढी दातृ निकायले ३७ करोड अमेरिकी डलरभन्दा बढी उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका अनुसार यो प्रतिबद्धता रकम आगामी वर्ष सन् २०२१ का लागि हो । सन् २०२० मा व्यक्त प्रतिबद्धताभन्दा सन् २०२१ का लागि बढी रकम उपलब्ध गराउन दातृ निकायहरु सहमत भएका छन् ।

राष्ट्रसंघीय कोषले सार्वजनिक गरेको विज्ञप्तिमा यस वर्ष कूल ६२ करोड डलर कोषलाई प्राप्त भएको जनाइएको छ । कोषले १ अर्ब डलर सहायता जुटाउने लक्ष्य राखेको छ । राष्ट्रसंघीय बजेट प्रतिबद्धता कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आपतकालीन परिस्थितिमा तत्काल सेवा पु–याउन यस्तो कोष अति प्रभावकारी हुने गरेको बताउनुभयो ।

सन् २००५ मा स्थापना भएको कोषले हालसम्म झण्डै सात अर्ब डलर तत्कालका मानवीय सेवामा खर्च गरिसकेको छ । यस कोषबाट विश्वका १०० भन्दा बढी देशका लाखौं मानिस लाभान्वित भएको कोषले जनाएको छ । (रासस–सिन्ह्वा)

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने