सरकार र चन्द समूहबीच सहमतिः शुक्रबार विस्तृत विवरण आउने

काठमाडौँ, २० फागुन :
नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच संवादका माध्यमबाट सम्पूर्ण राजनीतिक विषयको समाधान गर्ने गरी तीनबुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र चन्द समूहको वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले आज संयुक्त विज्ञप्ति जारी गरी सहमति भएकोपत्र सार्वजनिक गर्नुभयो ।

उक्त सहमतिसँगै चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छ । विज्ञप्तिमा नेपाल सरकारबाट उक्त समूहमाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ गर्ने र मुद्दा खारेजी गरिने उल्लेख छ ।

सहमतिको विस्तृत विवरण भने शुक्रबार अपराह्न २ बजे विशेष समारोहका बीच सार्वजनिक गरिने सहमतिपत्रमा उल्लेख छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका तर्फबाट महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि बुधबार वार्ता टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा चरणबद्धरूपमा संवाद भएको थियो । सरकारका तर्फबाट गृहमन्त्री थापा र चन्द समूहका तर्फबाट विश्वकर्माका संयोजकत्वमा मङ्गलबार अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो । सरकारी तर्फबाट वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र चन्द समूहका तर्फबाट दीपक चलाउने हुनुहुन्थ्यो । सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते उक्त समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।(रासस)

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा