प्रतिनिधि सभा बैठक बस्दै 

काठमाडौं, १८ चैत :

प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा पूर्वमन्त्री नविन्द्रराज जोशी र पूर्व सभासद् लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै सचिवालयले निकालेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विभिन्न संसदीय समितिका सभापतिले वार्षिक प्रतिवेदनहरू पेश गर्दै हुनुहुन्छ ।

यसैबीच, प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन केही दिनमै अन्त्य हुने सम्भावना बढेको छ । बर्खे अधिवेशन अबको एक महिना भित्रै बोलाउनुपर्ने भएकोले चालु हिउँदे अधिवेशन अन्त्य गर्नुपर्ने अवस्था आएको सांसदहरुले बताएका छन् । सर्वाेच्च अदालतको निर्णयबाट ब्यूँतिएको प्रतिनिधि सभाको सातौँ अधिवेशनलाई उत्साह र चासोका साथ हेरिए पनि दलहरूबीच विवाद् र अविश्वासका कारण सदनका काम कारवाही प्रभावकारी बन्न सकिरहेको छैन । विधेयक अधिवेशनका रुपमा रहेको यो अधिवेशनमा सदनमा पेश गर्नुपर्ने विधेयकको सूची लामो रहे पनि अहिलेसम्म एउटा पनि विधेयकले प्रवेश पाएको छैन । अहिलेसम्म बसेका ६ वटा बैठक सोक प्रस्ताव पारितमै सिमित भएको छ ।

नागरिकता, सङ्घीय निजामतीलगायत कतिपय महत्वपूर्ण विधेयक सदनमा अड्किएको लामो समय भए पनि दलहरूको विवादले सदनका बैठकहरू बिजनेस विहीन भइरहेका छन् । बर्खे अधिवेशन वैशाख भित्रै बोलाउनुपर्ने संवैधानिक व्यवस्था भएकाले पनि यो अधिवेशन अब धेरै लामो जान सक्ने सम्भावना नरहेको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको भनाइ छ । अधिवेशनका लागि विधेयकको लामो सूची भए पनि चालु अधिवेशनमा कुनै विधेयक पेश नभएको र महत्वपूर्ण विषयमा घनिभूत छलफल हुन नसकेको संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।

प्रतिनिधिसभाको कानुन तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले अदालतको पुनःस्थापना गर्ने निर्णयपछि स्वभाविकरूपमा प्रतिनिधि सभाको अधिवेशन सुरु भए पनि पहिलो बैठकमै सत्तापक्ष र प्रतिपक्षलगायत दलले संविधानले निर्दिष्ट गरेको अध्यादेश पेश गर्न अवरोध पुर्‍याएकोले समस्या भएको बताउनुभयो । पुनःस्थापनापछि प्रतिनिधिसभा बैठक फागुन २३ गते बसेको थियो । प्रतिनिधि सभा पुनःस्थापना भए पनि सरकारले बिजनेश नदिएको आरोप लाग्दै आएको छ । संसदलाई प्रभावकारी बनाउन केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुराकानीसमेत गर्नुभएको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा