काठमाडौं, २९ भाद्र :
च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पहिलो जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति डच क्लब आयाक्सलाई २–१ ले पराजित गर्दै लिभरपुलले पहिलो जित निकालेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र जोएल माटिपले गोल गरे ।
आयाक्सका मोहम्मद कुडुसले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा कुडुसले गोल गर्दै आयाक्सलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ८९ औं मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।
जितसँगै समूह ए मा रहेको लिभरपुल २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । आयाक्स ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।





