घटस्थापनाको दिन आज शक्तिपीठमा दर्शनार्थीको घुइँचो 

काठमाडौं, १० असोज :

आजदेखि नवरात्रि सुरु भएको छ । नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडा दशैँको आज पहिलो दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडा दशैँ १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) मनाइन्छ ।

नवरात्र सुरु भएसँगै देशभरका देवी आलयहरुमा दर्शनार्थीको भिड देख्न सकिन्छ । काठमाण्डौका भगवती मन्दिरमा पनि दर्शनार्थीहरुको भिड छ । यस अवसरमा भद्रकाली, सङ्कटा, दक्षिणकाली, रक्तकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालीका स्थान, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भिड लाग्ने गर्छ ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।

दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रूपमासमेत मनाउने गरिन्छ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा