आज विश्व पर्यटन दिवस नेपालमा पनि मनाईंदै

काठमाडौं, ११ असोज :

आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘पर्यटनमा पुनर्विचार गरौ’ भन्ने मूल नारासहित विश्वभर ४३ औँ पर्यटन दिवस मनाउन लागिएको हो ।

पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला ुललित कार्निभलुको आयोजना गरिएको छ । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह–आयोजनामा आज सांस्कृतिक मेला पाटन दरबार क्षेत्र, मंगलबजारमा हुन लागेको हो ।

आज पर्यटकहरूलाई स्वागत गरेर शुरू हुने सांस्कृतिक मेलामा ललितपुर महानगरपालिकाको पयर्टनसँग सम्बन्धित वेबसाइटको लोकार्पण, सम्पदा पदयात्रालगायतको पनि कार्यक्रम रहेको मेलाका संयोजक एवमं वडा नम्बर–१९ का अध्यक्ष राजेन्द्र महर्जनले बताउनुभयो ।

सांस्कृतिक मेलामा पाँच सय जना भन्दा धेरै कलाकारहरुले परम्परागत संगित तथा नृत्यको प्रस्तुति गर्ने मेलाका आन्तरिक संयोजक मोहन व्यञ्जनकारले बताउनुभयो । यसको लागि ज्यापू समाज यल, बौद्ध विहार संघ, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरले ३ महिना अघिदेखि नै सयौं कलाकारहरूलाई नायःखिं, धिमे, धाः लगायतपरम्परागत बाजाको प्रशिक्षण समेत दिएको छ ।

हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाउने गरिन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएको र अहिले पुनरुत्थानको चरणमा रहेको अवस्थामा दिवसलाई नयाँ अवसरको पहिचान र उपयोगमा जोड दिएर मनाउन लागिएको हो ।

नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको छ । भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, ऐतिहासिक, धार्मिक पर्यटकीय गन्तव्य तथा पुरातात्विक सम्पदाको धनी नेपालमा पर्यटन क्षेत्रको सम्भावना उच्च छ । नेपालले सन् २०२३ देखि २०३२ सम्म नेपाल भ्रमण दशक मनाउने निर्णय समेत गरेको छ ।

त्यस्तै बागमती प्रदेश सरकारले २०७९र८० लाई घुमफिर वर्षका रुपमा मनाउँदैछ । घुमफिर वर्षको आज चितवनको सौराहाबाट सुरुवात गरिदैछ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस