नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

कास्की, २५ असोज :

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दोस्रो दिन आज मङ्गलवार फेन्सिङ एकल सेभरतर्फ एपीएफका राजेन्द्र गजुरेल, महिलातर्फको फोयरमा आर्मीकी रमा सिंह र पुरुषतर्फको ईपीमा बाग्मती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते ।

गजुरेलले एपीएफका लागि पहिलो स्वर्ण जिते । यसअघि सातौँ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, आठौँमा टिम र एकल दुईमा रजत पदक जितेका थिए ।

सेभरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत पदक जितेका छन् । त्यसैगरी आर्मीकै रघुवीर चन्द्र र एपीएफका खेमराज खत्रीले कास्य पदक जिते ।

महिलातर्फको फोयरमा स्वर्ण पदक विजेता सिंहले सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण र आठौँमा रजत पदक जितेकी थिइन् । एपीएफकी मनिषा राईले रजत पदक तथा एपीएफकी मनिसा थापा र अनिता अधिकारीले कास्य पदक हात पारे ।

पुरुषतर्फको ईपीमा स्वर्ण जित्ने सिंहले आठौँमा पनि स्वर्ण पदक जितेका थिए । ईपीमा आर्मीका राम थापाले रजत पदक जिते । त्यसैगरी गण्डकी प्रदेशका विजय अधिकारी र एपीएफका मीन कार्कीले कास्य पदक जिते । गण्डकी प्रदेशका अधिकारीले पहिलो पदक जित्न सफल भएका हुन् ।

फेन्सिङको अङ्क तालिकाअनुसार आर्मी शीर्ष स्थानमा छ । आर्मीले दुई स्वर्ण, तीन रजत र चार कास्यसहित नौ पदक प्राप्त गरेको छ । त्यसैगरी बाग्मतीले दुई स्वर्ण, एक रजत र एक कास्यसहित चार पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, दुई रजत र ६ कास्य सहित नौ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश एक स्वर्ण पदकसहित चौथो स्थानमा छ । त्यसैगरी गण्डकी प्रदेश एक कास्यसहित पाँचौँ स्थानमा छ भन् प्रदेश नम्बर १ ले अहिलेसम्म पदक जित्न सकेको छैन ।

प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले पदक वितरण गरेका थिए ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा