गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियो : महासचिव भुसाल

काठमाडौं, ४ कार्तिक :

नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताउनुभएको छ । शुक्रवार काठमाण्डौमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताउनुभयो । उहाँले गएको वैशाख ३० गते भएको पालिका तहको चुनावमा मतदाताहरुलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको बताउनुभयो ।

उहाँले आउँदो चुनावमा भने समयमा नै मतदाताहरुलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराइ मत बदर हुनबाट रोक्नुपर्ने बताउनुभयो । महासचिव भुसालले पुनः प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने बताउनुभयो । उहाँले चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी रहेको बताउनुभयो । महासचिव भुसालले आउँदो चुनावमा गठबन्धनका उम्मेदवारहरुलाई सबै जनताले जिताउन आवश्यक रहेको बताउनुभयो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस