अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि घरमै आक्रमण

काठमाण्डाै, १२ कार्तिक :

संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि उहाँकै घरभित्रै पसेर आक्रमण भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान उज्यालो नहुँदै एकजना पुरूष सान फ्रान्सिस्कोस्थित पेलोसीको तीन तले घरमा पसेका थिए ।

उनी सभामुख पेलोसी कहाँ छन् भन्दै कराएको बीबीसीले उल्लेख गरेको छ । पछि ती व्यक्तिले पेलोसीका श्रीमान् ८२ वर्षीय पउल पेलोसीलाई ह्यामरले आक्रमण गरेको बताइएको छ ।

आक्रमणकारी घरभित्र घुसेपछि पउलले बाथरूमबाट आकस्मिक नम्बर ९११ मा कल गर्नुभएको थियो । केहीबेरमा पुगेको प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । ४२ वर्षीय डेभिड डेपापे नामका ती पुरूषले पेलोसीमाथि किन आक्रमण गरेका हुन् भन्ने खुलिसकेको छैन । प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आक्रमणबाट पउलको टाउको, पाखुर र हात चोट लागेको छ । अस्पतालमा भर्ना भएका पउल चाँडै निको हुने चिकित्सकहरूले अपेक्षा गरेका छन् ।

पति पउलमाथि आक्रमण हुँदा समामुख पेलोसी वासिङ्टनमा हुनुहुन्थ्यो । नोभेम्बर ८ मा हुन लागेको मिडटर्म चुनावको केही दिनअघि मात्रै सभामुखका परिवारमाथि भएको यो आक्रमणले अमेरिकी राजनीतिमा तरंग ल्याएको छ । राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको भर्त्सना गर्नुभएको छ ।

यसैगरी, विपक्षी रिपब्लिकन पार्टीका हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेटका नेताहरूले पनि आक्रमणको निन्दा गरेका छन् । -एजेन्सी

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा