झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा

बैतडी, २३ कार्तिक :

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताउनुभएको छ ।

बुधबार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्नुहुँदै उहाँले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताउनुभयो ।

पश्चिमसेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमुना शहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने प्रधानमन्त्री देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘झुलाघाटमा मोटरेबल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, उक्त पुल बनाएरै छाड्छु । पश्चिमसेती परियोजना अघि बढेको छ । पश्चिमसेती बन्यो भने सुदूरपश्चिमको विकासमा टेवा पुग्छ ।’

उहाँले देशको आवश्यकताका आधारमा गठबन्धन गरिएको बताउँदै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो । एक अर्को प्रसङ्गमा उहाँले विकासमा सन्तुलन कायम गर्न सङ्घीयता आवश्यक रहेकामा जोड दिनुभयो ।

अध्यक्ष ओलीलाई दाहालको प्रश्न : फेरि संविधान मिच्न बहुमत चाहियो ?

सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्रान्तिका लागि मङ्सिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताउनुभयो ।

‘आर्थिक क्रान्तिका लागि अहिलेको गठबनधन गरिएको हो । जनचाहनाअनुसार गठबन्धनले काम गर्नेछ । अग्रगमनका पक्षमा सबैले खडा हुनुपर्छ । अहङ्कार र लोकतन्त्रवादीको लडाइँ चलेकाले लोकतन्त्रले जित्नुपर्छ ।’

अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर देश समृद्ध बनाउनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘म जनयुद्धमै रहेका बेला दाङबाट देउवासँग टेलिफोनमा कुरा भएको थियो, देशलाई शान्ति प्रक्रियामा लैजाउँ भनेर कुरा भएको त्यसपछि शान्ति प्रक्रिया अगाडि बढेको हो । उतिबेलादेखि नै माओवादी र कांग्रेसबीच सहकार्य भएको हो ।’

उहाँले दुईतिहाइको सरकारको नेतृत्व गरेको तत्कालीन ओली सरकारले संविधान च्यातेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘दुईपटक संसद् विघटन गर्ने ओली अहिले बहुमत चाहियो भनिरहेका छन् । फेरि किन बहुमत चाहिएको हो रु फेरि किन दिने संविधान मिच्न रु अधिकार कुन्ठित गर्न भोट दिनुपर्ने हो भनेर प्रतिप्रश्न गर्नुपर्छ ।’

उहाँले सुदूरपश्चिमको जीवनस्तर माथि उकास्न सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर बजेट बनाइने बताउनुभयो । बैतडीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहनुभएको छ । प्रदेशसभा १ मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा २ मा कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा हुनुहुन्छ । रासस

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने