काठमाडौं, ४ पुस :
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सबै दल मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ । आज सोमवार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता खनालले नागरिकले कुनै पनि एक दललाई बहुमत नदिएकाले सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले आउँदाे एक हप्ताभित्र सरकार कस्तो बन्छ भन्ने छिनोफानो भइसक्ने भन्दै सरकारले सही दिशा दिन सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै एक पार्टीको बहुमत छैन, जनताले मिलेर काम गर भनेका छन् । त्यसैले यति बेला जो कोहीले पनि मिलेर काम गर्नुको विकल्प छैन । सरकार कस्तो बन्छ भन्ने चर्चा छ ।
वामपन्थी सरकार बन्नुपर्छ भन्ने कुरा पनि गरिरहेका छन्, वामपन्थी सरकार बन्ने आधारहरू हिजोको नेकपा एमालेको नेतृत्वले मोडेको छ । वाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिन्छ । खाली सङ्ख्या पुर्याएर सरकार बनाउने, कुनै मन्त्रालय लिने उद्देश्य लिएर अघि बढे हामी धेरै अघि जाँदैनौँ ।
लक्ष्य, योजनाको आधारमा सरकार बनाउनुपर्छ । जनताको जल्दाबल्दा समस्या उठाउनुपर्छ ।’ नेता खनालले आउँदाे पाँच वर्षमा एकीकृत समाजवादीलाई देशको पहिलो पार्टी बनाउने लक्ष्य लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।





