प्रतिनिधिसभाको बैठक माघ २७ गते शुक्रबार बस्ने

काठमाण्डौं, २२ माघ :

राष्ट्रपति विद्यादेवी भण्डारीले यही माघ २७ गते शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले माघ २७ गते शुक्रबार दिनको ३ः००बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सभामुख घिमिरेले राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा तोकिएको पोसाक लगाएर निर्धारित समय दिउँसोको ३ः०० बजेभन्दा अगाडि नै उपस्थित हुन सांसदहरूलाई अनुरोध समेत गर्नुभयो ।

नेपालको २०७२ को धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै एक सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न सक्ने व्यवस्था रहेको छ ।

यस्तै, संविधानमा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन चलिरहेको हुनाले राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो ।

यसअघि, प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप्ने सम्बन्धी बाधा अड्काउ फुकाऊ आदेश पेश भएको छ ।

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानका तर्फबाट खानेपानी मन्त्री अब्दुल खाँले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० साल असार मसान्तसम्म थप गर्न जारी भएको बाधा अड्काउ फुकाऊ आदेश पेश गर्नुभयो ।

यसअघि संसद्को विशेष समयमा लिएर बोल्नुहुँदै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताबाट लाभ लिने आकाङ्क्षा नराखी समुन्नत लोकतान्त्रिक अभ्यासमा लाग्न सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले जुनसुकै विधि अपनाएर भएपनि सधैँ सत्ता रहनुपर्छ भन्ने मानसिकताले राजनीतिक अस्थिरता ल्याएको र लोकतन्त्र नै कमजोर हुँदै जाने खतरा बढेको बताउनुभयो ।

अध्यक्ष ओलीले बहस र तर्कबाट देशमा समृद्धि नआउने हुनाले देश र जनताप्रति इमान्दार भएर राजनीति आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले देशलाई आर्थिक विकास र समृद्धिको दिशामा अगाडि जनताको अपेक्षा पूरा गर्ने गरी इमानदारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।

उपसभापति गुरुङले देश गम्भीर आर्थिक सङ्कटतर्फ धकेलिँदै गएको उल्लेख गर्नुहुँदै मुलुकको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा प¥याउने, सङ्घीयतालाई बलियो बनाउने र आर्थिक समृद्धि हासिल गर्ने जस्ता साझा लक्ष्य हासिल गर्न अहिलेको सरकार राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न चाहेको बताउनुभयो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले भारतबाट हुने आयात निरुत्साहित गरी किसानले उत्पादन गरेका तरकारी र खाद्यवस्तुले उचित मूल्य पाउने सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसअघि, बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउ बिजनको सहज उपलब्धता गराउनुपर्ने, सडक निर्माण एवं विकास निर्माणका कामलाई गति दिनुपर्ने, भारतसँगको खुला सिमानाबाट सिर्जित समस्या समाधान गर्नुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ २७ गते शुक्रबार दिनको ५ः०० बजे बस्ने छ ।

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि