काठमाडौं, ११ जेष्ठ : हिजो वर्षा कम भएपछि देशैभर गर्मी बढेको छ । अरु ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ । त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ । आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेश केही ठाउँहहरूमा, मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईमा केही दिनदेखि बढिरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ । दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगन्ज, धनगढी, दिपायललगायतका क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसको नजिक छ ।
तापक्रम बढेसँगै तातो हावा चलिरहेको छ । तापक्रम बढेपछि अस्पतालहरुमा बिरामीको चाप बढेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड्कन बढेमा, श्वासप्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ ।





