वीरगञ्ज, २८ माघ :
प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले हात पारेको छ ।
वीरगन्जमा आयोजित प्रतियोगिताको फाइनलमा गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घले उपाधि जितेको हो । वीरगन्जको नारायणी रङ्गशालास्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले १८.३ ओभरमा अलआउट हुँदै ७७ रन मात्र बनाएको थियो ।
७८ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घले ९.४ ओभर खेल्दै १ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो ।
प्रतियोगिताको म्यान अफ दी सिरिज मधेस प्रदेशका नवीन तामाङ घोषित भए । उपाधिसँगै मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घले नगद ३० हजार रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले भने नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
विजेता र उपविजेता टिमलाई वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत शैलेन्द्र कुमारले नगद पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो ।
नेपाल नेत्रहीन क्रिकेट संघ र मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घको संयुक्त आयोजनामा बुधबार शुरु भएको प्रतियोगितामा चार प्रदेशका टिमले भाग लिएका थिए ।
सात वटै प्रदेशलाई आमन्त्रण गरिए पनि प्रदेश १, मधेस, बागमती र गण्डकी गरी ४ प्रदेशले मात्र भाग लिएको नेपाल नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा १६ महिलासहित ६० जना दृष्टिविहीन खेलाडीले भाग लिएको श्रेष्ठले बताउनुभयो ।



