काठमाडौं, १८ फागुन :
प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना निर्माणका लागि नदी फर्काउन बनाइएको डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ ।
रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।
सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारदेखि सोही सुरुङबाट नदी फर्काइ बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले बताएका छन् । आयोजनाको भूमिगत विद्युतगृह खन्ने कार्य करिब २१ प्रतिशत सम्पन्न भएको समेत आयोजनाले उल्लेख गरेको छ । आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत रहेको छ ।





