अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग

काठमाडौं, २३ चैत :

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले विमानस्थलमा देखिएको बेथिति र लापरबाहीका कारण एक निर्दोष नेपालीले कतारको जेलमा बन्दीजीवन बिताइरहनुपरेको बताउनुभयो ।

सांसद ढकालका अनुसार गत वैशाखमा वैदेशिक रोजगारीका लागि कतार जान लागेका एक नेपालीको झोलामा कसैले झुक्याएर लागुऔषध राखिँदिँदा कतारको विमानस्थलमा पक्राउ परेका उनलाई १० वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ । उहाँले सभामुखमार्फत गृहमन्त्रीलाई प्रश्न गर्नुभयो, “उनीजस्ता निर्दोष नेपाली कतारको जेलमा अरु कति छन् र उनीहरुको अवस्था के छ रु”

सांसद ढकालले वैदेशिक रोजगारीमा गएका एकजनाको शव ल्याउँदा शवको बाकससमेत भन्सारमा फोरिएको र यसले विमानस्थलमा हुनेगरेका बेथितिलाई प्रष्ट्याउँछ भन्दै विमानस्थलमा बारम्बार हुने यस्ता घटना न्यूनीकरणमा सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भरतपुर क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक र उपनिर्देशकको मिलेमतोमा क्यान्सर उपचारका लागि उपकरण खरिद गर्ने रकम तलब भत्तामै खर्च भैसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले दिनप्रतिदिन विदेशी ऋणभार बढेपनि मुलुकको आर्थिक विकासले गति लिन नसकेको बताउनुभयो ।(रासस)

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा