बीमा रकम भुक्तानीका लागि ज्ञापनपत्र

विराटनगर, २९ चैत :

इटहरी तथा सुनसरीका कोरोना सङ्क्रमित पत्रकार तथा सञ्चारकर्मीको रकम उपलब्ध गराउन नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले ध्यानाकर्षणपत्र बुझाउनुभएको छ ।

अध्यक्ष अधिकारीले आइएमी जनरल इन्स्युरेन्स कम्पनी काठमाडौंमा आज कोरोना सङ्क्रमित सञ्चारकर्मीको कोरोना बीमाबापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।

कम्पनीका कोभिड इञ्चार्ज लोकेन्द्र कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै अधिकारीले कुल ४८ मध्ये ३० जनाको एक लाखका दरले बीमाबापतको रकम उपलब्ध भए पनि बाँकी १८ जनाको रकम तत्काल उपलब्ध गराउन आग्रह गर्नुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै कार्कीले हालसम्म सुनसरीबाट ४८ जना सञ्चारकर्मीको लिस्ट आएको र चाँडै वार्तामा बसेर भुक्तानी दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि युनियनले कोभिड महामारीको समयमा सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरेको थियो ।

जसमध्ये ४८ जना सङ्क्रमित भएका थिए भने हालसम्म ३० जनाले एक लाखका दरले भुक्तानी पाइसकेका छन् ।

सभापति अधिकारीले भन्नुभयो, ‘हाम्रो अहिलेको कार्यकाल पूरा हुन लाग्दा आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्यले आज ध्यानाकर्षण पत्र बुझाएका हौँ, चाँडै नै रकम पनि उपलब्ध हुने विश्वास छ । रासस

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी