प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल

काठमाडौं, २ बैशाख :   

मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ वटा मन्त्रालयको समेत कार्यभार छ । तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरुप प्रधानमन्त्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको हो ।

बैठकमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललगायतको उपस्थिति रहेको प्रेसविज्ञ तिमिल्सिनाले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गर्नुभएको थियो । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गर्नुभएको बुझिएको छ ।

काँग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन । काँग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ ।(रासस)

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि