काठमाडौं, ६ बैशाख : सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि चर्किएको सत्ता संघर्ष जारी छ । सरकारी सेना र विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको संघर्ष पाँचौं दिन पनि जारी रहेको र यस क्रममा दुई सय बढीको मृत्यु भइसकेको जनाइएको छ । घटनामा करिब ११ सय घाइते भएका छन् ।
संघर्षकाबीच ठाउँ ठाउँमा आगजनी हुँदा भौतिक क्षति पनि उत्तिकै भएको छ । सुडानको आकाश बारुदको धुँवाले भरिएको छ । सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र विपक्षी मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बलबीचको संघर्षले देशलाई गम्भीर अराजकतातर्फ धकेलेको छ ।
संघर्षका कारण सर्वसाधारण घर बाहिर निस्कन पाएका छैनन् भने दैनिक उपभोग्य सामग्रीको अभाव चर्किएको छ ।





