देशभर गर्मी बढ्दै, दिउँसो टन्टलापुर घाम

काठमाडौं, २७ बैशाख :

देशभर गर्मी बढ्न थालेको छ । बिहानैदेखि घाम चर्किँदा अधिकतम तापक्रम बढ्न थालेको छ । भैरहवाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो भैरहवाको अधिकतम तापक्रम ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, सिमरा, विराटनगर, धरान, जनकपुरको अधिकतम तापक्रम ४० डिग्रीको हाराहारीमा पुगेको छ ।

अन्य ठाउँमा पनि तापक्रम बढिरहेको छ । बिहान बेलुका खासै समस्या नभए पनि दिउँसोको समयमा टन्टलापुर घाम लाग्दा घरबाहिर हिँडडुल गर्न मुस्किल छ । तराईका जिल्लामा दिउँसोको समयमा बजार सुनसान जस्तै हुन थालेको छ ।

तत्काल पानी पर्ने सम्भावना नरहेकाले तापक्रम अझै बढ्ने मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार तत्कालका लागि पानी पार्ने कुनै पनि प्रणाली विकसित भएको छैन ।

प्रि मनसुनको समय भएकाले पहाडी क्षेत्रको केही ठाउँमा बेलुकीपख मौसम आंशिकदेखि सामान्य बदली भएर फाट्टफुट्ट पानी पर्ने सम्भावना रहे पनि तराईका जिल्लामा बेलुकासम्म नै घाम चर्किने अनुमान छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस