नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं, ७ जेठ :

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले छानविन टुंग्याएको छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा आइतबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउँदैछ ।

नेपाली नागरिकलाई नक्क्ली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका ३२ जनालाई नै ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिने भएको छ ।

केही अभियुक्तविरुद्ध लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा पनि दायर हुने सम्भावना छ । यद्यपि, यससम्बन्धी अन्तिम निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । आरोपितमध्ये चार उच्च पदस्थहरु टोपबहादर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई र भुटानी शरणार्थी नेता टेकनाथ रिजालमाथि भने राज्य विरुद्धको कसुरमा पनि मुद्दा चलाउनुपर्ने प्रहरीको ठहर छ ।

आरोपित ३२ जनामध्ये १६ जना हाल प्रहरीको हिरासतमा रहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा ५५ दिन अनुसन्धान गरेर प्रहरीले शनिबार प्रतिवेदन तयार पारेको हो । अनुसन्धानको क्रममा गिरोहले करिब २६ करोड रुपैयाँ ठगी गरेको दाबीसहित सय जनाभन्दा बढीले प्रहरीमा उजुरी दिएका थिए । गिरोहले एक अर्ब रुपैयाँभन्दा बढी उठाएको अनुमान गरिएको छ ।

तेस्रो मुलुक पुर्नवासको लागि गरिएको प्रमाणिकरणमा छुटेका शरणार्थीबारे छानविन गर्न गृह मन्त्रालयले गठन गरेको कार्यदलमै घुसपैठ गराएर गिरोहले संगठित रूपले मानव तस्करी गरेको खुलेको छ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा