काठमाडौं, ३ असार : नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरुको क्लब निर्माण गर्नुपर्ने बताउनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सातै प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीलाई दवाव दिन एउटा क्लब बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उपमहासचिव गुरुङले सबै प्रदेशका मुख्यमन्त्री भइसकेपछि फरक पार्टीका हुने र त्यसले प्रधानमन्त्रीलाई प्रदेशका अधिकार काट्नबाट दवाव सिर्जना हुने बताउनुभयो ।
उहाँले सांसदहरुले मनपरी खर्च गर्ने, आर्थिक नियमावली पालना नगर्ने भन्ने आरोपहरु लाग्ने गरेको भन्दै त्यसमा पनि चनाखो हुन आवश्यक रहेको बताउनुभयो । उपमहासचिव गुरुङले सांसदहरुले आफूलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।





