चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन

काठमाडौं, ७ असोज : चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अध्ययन शुरु गरेको छ । चिनीको भाउ बढ्नुको कारणबारे अध्ययन गर्न टोली गठन गरेको र टोलीले केही दिनमै प्रतिवेदन तयार पार्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन शाखाका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिनुभयो ।

टोलीको प्रतिवेदनका आधारमा कारबाही तथा हस्तक्षेप गर्ने उहाँले बताउनुभयो । अहिले बजारमा अनुगमन गर्दा पनि व्यापारीहरुले बिक्री अनुपातको खरिद बिल देखाउन नसकेका कारण मूल्यमा कालोबजारी नै देखिएको उहाँले बतानुभयो । हरेक चाडपर्वमा विभिन्न बहानामा चिनीको भाउ बढ्ने गरेकोमा यो वर्ष व्यापारीहरुले अभावलाई कारण देखाएका छन् ।

होलसेल बजारमै भाउ बढेकाले खुद्रा व्यापारीहरुले बढाएका छन् । तर होलसेल बजारमा भाउ बढ्नुपर्ने कारण नरहेको र अध्ययन भइरहेको विभागले जनाएको छ । भाउ धेरै बढेपछि कतिपय खुद्रा व्यापारीले चिनी बेच्नै छाडेका छन् । नेपाल खुद्रा व्यापार सङ्घले भने खाद्य तथा किराना वस्तुको मूल्य सूचीबाट चिनीको सूची नै हटाएको छ ।

आफूसँग स्टक नरहेका भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको बिक्री स्थगित गरेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँसम्ममा पाइने चिनीको भाउ अहिले ३० प्रतिशतसम्म बढेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस